उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछाने

  • केदार अधिकारी
  • चैत्र १६, २०८०

फिक्कल (इलाम) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन्।

इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताएका हुन् ।

उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए। “मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला”, उनले भने, “२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।”

उनले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताए। “सुरक्षाकर्मी साथीहरू यही हुनुहुन्छ, चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउनुहोला, पैसाको पोको बोकेर गाउँ छिर्नेलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला”, उनले सुरुक्षाकर्मीलाई निर्देशन दिँदै भने।

लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताए ।

रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।

यो वेबसाइट बिक्रि गर्न राखिएको हो साइट खरिद गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला र यसमा भएका कन्टेन्टहरु केवल Demo प्रयोजनको लागि बिभिन्न श्रोतहरुबाट लिएको हो, कन्टेन्ट प्रति कोहि कसैलाई आपत्ति भए हामी क्षमा चाहन्छौं र कृपया ९८४६६१७२२७ मा सम्पर्क गर्न सक्नुहुनेछ धन्यवाद |

© 2024 All Rights Reserved | Pokhara Media || Designed by: Goji Solution